नदीजन्य पदार्थको अवैध ओसारपसारमा संलग्न १२ सवारीसाधन प्रहरी नियन्त्रणमा, २ लाख ८० हजार राजस्व संकलन
नदीजन्य पदार्थको अवैध ओसारपसारमा संलग्न १२ सवारीसाधन प्रहरी नियन्त्रणमा, २ लाख ८० हजार राजस्व संकलन
नवलपुर ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा संलग्न १२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनलाई सम्बन्धित स्थानीय तहमा आवश्यक कारबाहीका लागि पठाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार २०८३ साल भदौ ६ गतेदेखि भदौ १९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट नदीजन्य पदार्थ ओसारपसारमा संलग्न सवारीसाधन नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार रसिदबिना तथा मापदण्डविपरीत नदीजन्य पदार्थ ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ट्र्याक्टर तथा अन्य सवारीसाधन नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित नगरपालिका तथा गाउँपालिकामा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीको विवरणअनुसार कावासोती नगरपालिका–३ बाट दुईवटा, कावासोती–४ बाट एउटा, कावासोती–१ बाट दुईवटा र कावासोती–३ बाट थप एउटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।
त्यस्तै, विनयी त्रिवेणी गाउँपालिका–२ का विभिन्न स्थानबाट पाँचवटा तथा वडा नम्बर ४ बाट एउटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीको विवरणमा उल्लेख छ।नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये अधिकांश ट्र्याक्टर रहेका छन्। नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारका क्रममा आवश्यक मापदण्ड पालना नगरेको तथा रसिदबिना सामग्री ओसारपसार गरेको पाइएपछि स्थानीय तहबाट जरिवाना तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये ११ वटा सवारीसाधनलाई सम्बन्धित स्थानीय तहबाट जरिवाना गरिएको छ भने एउटा सवारीसाधन कारबाहीको प्रक्रियामा रहेको छ।जरिवानाबाट मात्रै कुल २ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विवरणअनुसार कावासोती नगरपालिकाबाट कारबाहीमा परेका केही सवारीसाधनलाई प्रति सवारी १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। विनयी त्रिवेणी गाउँपालिकाबाट कारबाहीमा परेका सवारीसाधनमध्ये केहीलाई ३० हजार रुपैयाँ तथा एउटा सवारीसाधनलाई ४० हजार रुपैयाँसम्म जरिवाना गरिएको प्रहरीको विवरणमा उल्लेख छ।प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि जिल्लाका विभिन्न क्षेत्रमा निगरानी तथा चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ। विशेषगरी नदी, खोला तथा खोल्साबाट मापदण्डविपरीत ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्दा वातावरणीय क्षति हुनुका साथै स्थानीय तहको राजस्वसमेत प्रभावित हुने भएकाले प्रहरीले निगरानी बढाएको हो।
नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार गर्दा सम्बन्धित निकायबाट अनुमति लिने, तोकिएको स्थानबाट मात्र उत्खनन गर्ने तथा स्थानीय तहले तोकेको मापदण्ड र प्रक्रिया पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने कार्यमा संलग्न सवारीसाधन तथा व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।
जन्मदिनमा विद्यार्थीको अनुकरणीय कार्य : लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसालाई गमला उपहार
नवलपुरको मध्यविन्दु नगरपालिका–७, अम्रसास्थित लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरूले जन्मदिनलाई सिर्जनशील र सामाजिक उत्तरदायित्वसँग
नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त
नवलपुरको मध्यविन्दु नगरपालिका–७, चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त हुनुभएको छ। क्याम्पस
मध्यविन्दु नगरपालिकामा प्यान वितरण सेवा शुभारम्भ l
मध्यविन्दु नगरपालिकामा स्थायी लेखा नम्बर (PAN) वितरण सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। नगरपालिकाबाटै स्थायी लेखा नम्बर प्राप्त गर्न सकिने भएपछि अब




प्रतिकृया दिनुहोस