जन्मदिनमा विद्यार्थीको अनुकरणीय कार्य : लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसालाई गमला उपहार

जन्मदिनको अवसरमा विद्यालयलाई गमला प्रदान गर्दै विद्यार्थीहरु

नवलपुरको मध्यविन्दु नगरपालिका–७, अम्रसास्थित लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरूले जन्मदिनलाई सिर्जनशील र सामाजिक उत्तरदायित्वसँग जोड्दै अनुकरणीय कार्य गरेका छन्। विद्यालयमा अध्ययनरत कक्षा ५ की दिव्या पाण्डे, कक्षा ६ की रोमकला फाल मगर र कक्षा ८ की गंगामाया कुमालको जन्मदिनको अवसरमा विद्यालय परिवारले उनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।

जन्मदिनलाई केवल व्यक्तिगत खुसीको अवसरका रूपमा मात्र नभई विद्यालय तथा वातावरणसँग जोड्ने सकारात्मक अभ्यासका रूपमा विद्यार्थीहरूले देखाएको कार्यले विद्यालयमा नयाँ सन्देशसमेत दिएको छ। यसैक्रममा कक्षा ६ मा अध्ययनरत रोमकला फाल मगरले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई ३ वटा फूल रोप्ने गमला प्रदान गर्नुभएको छ। त्यसैगरी कक्षा ४ मा अध्ययनरत छात्रा कृतिका सारुले पनि विद्यालयलाई एउटा फूल रोप्ने गमला प्रदान गर्नुभएको छ।

विद्यार्थीहरूले आफ्नो जन्मदिनमा विद्यालयलाई गमला उपहार दिएर वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विद्यालय परिसरलाई सुन्दर बनाउने अभियानमा योगदान दिएका हुन्। जन्मदिनमा साथीभाइलाई भोज वा अन्य सामग्री वितरण गर्ने परम्पराभन्दा फरक ढंगले विद्यालयलाई उपयोगी सामग्री प्रदान गर्ने उनीहरूको सोचले अन्य विद्यार्थीलाई समेत सकारात्मक प्रेरणा दिने देखिएको छ।

विद्यालयले विद्यार्थीहरूको यस्तो कार्यलाई प्रशंसनीय र अनुकरणीय भन्दै धन्यवाद तथा आभार व्यक्त गरेको छ। विद्यालय परिवारका अनुसार बालबालिकामा सानै उमेरदेखि वातावरणप्रतिको जिम्मेवारी, सहयोगी भावना र सामाजिक उत्तरदायित्वको विकास गराउन यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्नेछ।

विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जन्मदिनको अवसरमा विद्यालयलाई गमला प्रदान गर्ने विद्यार्थी रोमकला फाल मगर र कृतिका सारुप्रति आभार व्यक्त गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ। साथै जन्मदिन मनाइरहेका दिव्या पाण्डे, रोमकला फाल मगर र गंगामाया कुमाललाई विद्यालय परिवारका तर्फबाट स्वास्थ्य, सुख, समृद्धि तथा सफलताको शुभकामना व्यक्त गरिएको छ। विद्यालयमा हुने यस्ता साना तर अर्थपूर्ण गतिविधिले विद्यार्थीलाई पढाइसँगै असल संस्कार, वातावरणप्रेम, सहयोग र सामाजिक जिम्मेवारीको भावना विकास गर्न प्रेरित गर्ने विश्वास गरिएको छ। साथै उक्त गमलाको हेरचाह गर्ने जिम्मेवारी पनि विद्यार्थीलाई नै दिइएकाले विद्यार्थी थप जिम्मेवार बन्ने पनि प्रधानाध्यापक ऋषिराम भुसालले बताउनुभयो l 

‘जन्मदिनमा केही पाउनेभन्दा केही दिने’ संस्कारको विकास गराउने यस्ता अभ्यासले विद्यार्थीमा सकारात्मक सोचको विकास गर्नुका साथै विद्यालय र समुदायमा पनि राम्रो प्रभाव पार्ने देखिन्छ। भदौ ४ गते बिहीबार आज , लक्ष्मी आदर्श आधारभूत विद्यालय, मध्यविन्दु–७ अम्रसाले सार्वजनिक गरेको शुभकामना तथा आभार सन्देशमा विद्यार्थीहरूको यस अनुकरणीय कार्यलाई विशेष रूपमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस

नदीजन्य पदार्थको अवैध ओसारपसारमा संलग्न १२ सवारीसाधन प्रहरी नियन्त्रणमा, २ लाख ८० हजार राजस्व संकलन

  नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा संलग्न १२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त

नवलपुरको मध्यविन्दु नगरपालिका–७, चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त हुनुभएको छ। क्याम्पस

मध्यविन्दु नगरपालिकामा प्यान वितरण सेवा शुभारम्भ l

मध्यविन्दु नगरपालिकामा स्थायी लेखा नम्बर (PAN) वितरण सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। नगरपालिकाबाटै स्थायी लेखा नम्बर प्राप्त गर्न सकिने भएपछि अब