तमसरिया खानेपानीमा उपभोक्ताको तालाबन्दी, आर्थिक तथा प्रशासनिक अपारदर्शिताको आरोप

0
194

तिर्थराज डुम्रे
चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेको तमसरिया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई संस्थाको कार्यालयमा उपभोक्ताहरुले तालबन्दी गरिदिएका छन् । उपभोक्ताहरुलाई आर्थिक भार बोकाउने गरी खानेपानी महशुल निर्धारण गरिएको भन्दै उपभोक्ताहरुले आज कार्यालयमा तालाबन्दी गरेका हुन् ।


संस्थाको मनपरीको कारण उपभोक्ताहरुलाई अत्याधिक महशुलको भार परेको उनिहरुको भनाईछ । नियमित रुपमा हुनुपर्ने मिटर रिडिङ्गको काम नगर्दा अहिले उपभोक्ताहरुको अत्याधिक महशुल रकम उठेको छ । गत वर्ष उपभोक्ताहरुबाट एकमुष्ट एक हजार पाँच सय रकम संकलन गरेको संस्थाले २०७७ साउन यताको रकम संकलनको लागि भन्दै अहिले ज्यालादारीमा मिटर रिडर खटाएको छ । मिटर रिडिङ्गको क्रममा २० हजार रुपैया भन्दा माथि सम्म महशुल उठेपछि उपभोक्ताहरु आन्दोलित भएका हुन् । चोरमारा बजारका अधिकाम्स उपभोक्ताहरुले पानीको अत्याधिक महशुल उठेको भन्दै उपभोक्ताहरुसंगको कुनै छलफल तथा निर्णय बिनै मुल्य कायम गरिनु गलत भएको बताएका छन् ।
विद्यान अनुसार हुनुपर्ने संस्थाको अधिवेशन, लेखा परिक्षण सहितको कार्य नगर्ने, संस्थाको आर्थिक तथा प्रशासनिक काममा पारदर्शिता नभएको मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुलीले बताउनुभयो । विद्यान अनुसार चार वर्ष अगाडी नै हुनुपर्ने अधिवेशन नहुनु र अहिले महशुलको नाममा उपभोक्ताहरुको ढाड सेक्ने काम भएको कारण बाध्य भएर उपभोक्ताहरुले कार्यालयमा तालाबन्दी गरेको उहाँको भनाई । यसअघि उपभोक्ताहरुको सहमतिमा गत वर्षको रकम एक हजार पाँच सय रुपैया एकमुष्ठ उठाउने सहमति भएपनि अहिले कुनै जानकारी बिना नियमित रुपमा गरिनुपर्ने काम एक्कै पटक गरिनु र अत्याधिक महशुल उठ्नु त्रुटिपूर्ण रहेको उहाँले बताउनुभयो ।
हालको कार्यसमिति विद्यान अनुसार अवैधानिक भइसकेको भन्दै महशुल रकम निर्धारण, संकलन तथा प्रशासनिक कर्मचारी नियुक्ती गर्ने अधिकार यो समितिमा नभएको मध्यविन्दु–७ का स्थानीय उपभोक्ता कृष्ण गैरेले बताउनुभयो । विगतमा कर्मचारी नियुक्तीको लागि भन्दै फारम संकलन भएपनि हाल सम्म त्यसको पक्रिया शुरु नगरिनु र मनपरि ढंगले कर्मचारी नियुक्ती गरिनु खेदजनक भएको उहाँले बताउनुभयो । अहिलेको आन्दोलन तत्काल संस्थाको अधिवेशन र अहिले भएको महशुल रकम उठाउने पक्रिया रोक्नको लागि भएको स्थानीय युवा इश्वर गैरेले बताउनुभयो ।
संस्थाका उपभोक्ता देवलाल काफ्लेले विगतमा संस्थालाई नियमित रुपमा मिटर रिडिङ्गको लागि अनुरोध गरिएको भएपनि त्यो अनुसार काम नहुदा अहिलेको अवस्था सृजना भएको उहाँले बताउनुभयो । अहिले संस्थाले उपभोक्ताहरुलाई निर्धारण गरिएको रकम अत्याधिक भएको उहाँले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाको साविक तमसरिया गा.वि.स.लाई कार्यक्षेत्र बनाएर तमसरिया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई संस्थाले काम गरिरहेको छ । हाल यस संस्थाको करिव तिन हजार उपभोक्ताहरु रहेका छन् । संस्थाको विद्यान अनुसार चार वर्ष अगाडी नै संस्थाको अधिवेशन सम्पन्न भएको हुनुपर्ने भएपनि विभिन्न बहानामा संस्थाको अधिवेशन हुन सकेको छैन । जसको कारण विगत लामो समय देखि स्थानीय उपभोक्ताहरुले अधिवेशनको माग गर्दै आएका छन् ।
उता संस्थाका अध्यक्ष राजु पाण्डेले उपभोक्ताहरुको माग सम्बोधनको लागि संस्था गम्भीर रहेको बताउनुभयो । २०७७ साउन देखि मंसिर सम्मको महशुल एकैसाथ संकलन गर्न लागिएकाले अहिले उपभोक्ताहरुमा केही अन्यौलता भने देखिएको उहाँले बताउनुभयो । शुल्क निर्धारणको हकमा संस्थाले उपभोक्ताहरुको माग बमोजिम न्यूनतम महशुल रु दुई सयबाट समाजोजन गरि अहिले रिडिङ्गको लागि रु एक सय पचास निर्धारण गरिएको छ । हाल उठेको महशुलको विषयमा स्थानीय तहसंग आवश्यक समन्वय गरि थप निर्णय गर्न लागिएको हुदाँ पुस ७ गते पछि मात्रै महशुल बुझाउन उहाँले उपभोक्तालाई आग्रह गरिएको बताउनुभयो । अधिवेशनको सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको भन्दै उहाँले तत्काल अधिवेशन बोलाउन तयार रहेको बताउनुभयो ।
उपभोक्ताहरुले भने विगत लामो समय देखि संस्थाका पदाधिकारीले तत्काल अधिवेशन बोलाउने प्रतिबद्धता जनाएको भएपनि सो अनुसार कार्य हुन नसक्दा बाध्य भएर संस्थाको कार्यालयमा तालाबन्दी गर्न परेको बताएका छन् । संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको भएपनि खानेपानी वितरण प्रणालीमा कुनै असर नपर्ने उपभोक्ता एनपी पोखरेलले बताउनुभयो । आजको आन्दोलनको नेतृत्व सूर्यदोय टोल बिकास समितिका संयोजक तिलकराम सिग्देलले गर्नु भएको थियो । उपभोक्ताहरुको माग तत्काल सम्बोधन नभए थप आन्दोलनको कार्यक्रम तय गर्न बाध्य हुने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here