नवलपुरको तिन स्थानीय तहमा अस्पताल शिलान्यास

0
85

चोरमारा । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको तिन वटा स्थानीय तहमा सोमबार १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । जिल्लाको गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका र बौदीकाली गाउँपालिकामा १५–१५ शैयाको अस्पतालको शिलान्यास गरिएको हो ।
गैंडाकोट नगरपालिका–११ को पितौजीघाट प्राथमिक स्वास्थ्य केन्द्र, देवचुली नगरपालिका–३ को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र र बौदीकाली गाउँपालिका–२ को रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पताल शिलान्यास गरिएको हो । केन्द्र सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्र्तगत पहिलो चरणमा नवलपुरको तिन वटा स्थानीय तहमा अस्पताल निर्माण हुन लागेको हो ।
गैंडाकोट नगरपालिकामा निर्माण हुने अस्पतालको शिलान्यास गैंडाकोट नगर प्रमुुख छत्रराज पौडेल, देवचुली नगरपालिकामा निर्माण हुने अस्पतालको शिलान्यास देवचुली नगर प्रमुख पूर्णकुमार श्रेष्ठ र बौदीकाली गाउँपालिकामा निर्माण हुने अस्पतालको शिलान्यास गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले गर्नु भएको हो ।
गैंडाकोट नगरपालिकाको प्रस्तावित नगर अस्पताल प्राङ्गणमा अस्पतालको शिलान्यास गर्दै नगर छत्रराज प्रमुख पौडेलले केन्द्र संघिय सरकारले शुरुवात गरेको यो अभियानले देशभर स्वास्थ्य सेवामा नयाँ आयम थपिने विश्वास व्यक्त गर्नुभयो । गैंडाकोट नगरपालिकामा १८ करोड ६७ लाख रुपैया लागतमा निर्माण सम्पन्न गर्ने योजना रहेको अस्पतालको लागि हाल एक करोड रुपैया बजेट बिनियोजन गरिसकेको उहाँले बताउनुभयो ।
देवचुली नगरपालिकाको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालको शिलान्यास गर्दै नगर प्रमुख पुर्णकुमार श्रेष्ठले हाल कोभिड नियन्त्रणमा देवचुली नगरपालिका जिल्लाको राम्रो काम गरेको भन्दै अस्पताल निर्माण पछि यहाँबाट हुने सेवाप्रवाह समेत प्रदेशकै उत्कृष्ट गराउने गरी काम गर्ने बताउनुभयो ।
बौदीकाली गाउँपालिकाको रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले अस्पताल निर्माण पछि जिल्लाको पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच हुने बताउनुभयो । अस्पताल निर्माणपछि पहाडी क्षेत्रका स्थानीय उपचारको लागि बजार क्षेत्र र चितवन जानुपर्ने बाध्यता धेरैहद सम्म हट्ने विश्वास व्यक्त गर्नुभयो ।
संघिय सरकारले स्थानीय तह सम्म आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चिता गर्न सोमबार देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पताल शिलान्यास गरेको छ । अर्थमन्त्रालयले बजेटको व्यवस्थापन गरेर अहिले पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको शुरुवात गरेको हो । क्रमश सबै पालिका हरुमा अस्पताल स्थापना गरिनेछ ।
संघीय सरकारको सहयोगमा स्थानीय तहले नै अस्पताल निर्माण तथा सञ्चालन गर्नेछन् । जसको लागि आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भइसकेको छ । पाँच शैयाको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शैयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here