तिर्थराज डुम्रे
चोरमारा, ११ मंसिर । चितवन राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तु नियन्त्रणको लागि मध्यविन्दु–१५ मा विद्युतीय तार बिछ्याइएको छ । निकुञ्जबाट बस्ती तर्फ आउने वन्यजन्तुबाट हुने बाली सहित मानविय क्षति कम गर्न विद्युतीय तार जडान गरिएको हो ।
मध्यविन्दु–१५ तल्लो भिउरानको चौपारी टोलदेखि रुखेनी, गरम टोला हुदै माथिल्लो भिउरानको कागज प्mयाक्ट्री सम्म करिव साढे तिन किलोमिटर विद्युतीय तार जडान गरिएको गैंडा तथा वन्यजन्तु संरक्षण तथा नियन्त्रण समितिका सदस्य ओमप्रकाश भट्टराईले बताउनुभयो । मध्यविन्दु नगरपालिकाको आठ लाख रुपैया, स्थानीय कालिकोटे सामुदायिक वन उपभोक्ता समूहको पोल सहयोग र स्थानीय उपभोक्ताहरुको श्रमदानबाट विद्युतीय तार जडान गरिएको हो ।
तारमा बिहिबार साँझदेखि विद्युत छाडिएको छ । प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म ब्याट्री मार्फत विद्युत प्रवाह गरिने भट्टराईले बताउनुभयो । उहाँका अनुसार तारमा प्रवाह भएको विद्युतबाट वन्यजन्तु नमर्ने तर झड्का दिनेछ । जसको कारण वन्यजन्तु निकुञ्ज तर्फ नै फर्कनेछन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट आउने गैंडा, बदेल, हरिण, मृगले वर्षेनी सो क्षेत्रमा लगाएको बालिमा क्षति पुग्दै आएको छ भने बाघ, गैंडा सहितको वन्यजन्तुबाट मानवीय क्षति समेत हुने गरेको छ । विद्युतीय तार लगाएपछि निकुञ्जबाट आउने वन्यजन्तुबात हुने बालि तथा मानविय क्षति कम हुने विश्वास सो क्षेत्रका स्थानीयको छ ।