रुख कटान तथा बिक्रिवितरण फुकुवा गर्न फेकोफन नवलपुरको माग

0
89

चोरमारा । सरकारले काठदाउरा ओसारपोसार, संकलन तथा बिक्रि वितरणमा लगाएको रोक तल्काल फुकुवा गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, नवलपुरले आज प्रमुख जिल्ला अधिकारी र डिभिजनल वन अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी र डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत मोहन काफ्ले मार्फत वन तथा वातावरण मन्त्रीलाई ज्ञापन पत्र पठाइएको महासंघका जिल्ला अध्यक्ष ठाकुर प्रसाद पाण्डेले बताउनुभयो । वन ऐन अनुसार रुख कटान तथा बिक्रि वितरण गर्न लगाइएको रोक फुकुवा गर्दै उच्चस्तरिय छानवीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीको ध्यानाकर्षण गराइएको पाण्डेले बताउनुभयो ।

सरकारले गत जेठ १५ गते देखि काठदाउरा ओसारपोसार, संकलन तथा बिक्रि वितरणमा रोक लगाएको थियो । जसको कारण उपभोक्ताहरुको अधिकार हनन् भएको महासंघको भनाईछ । तत्काल काठदाउरा ओसारपोसार, संकलन तथा बिक्रि वितरणमा लगाइएको रोक फुकुवा नगरे थप आन्दोलनको कार्यक्रमहरु अगाडी बढाईने उहाँले बताउनुभयो ।
सामुदायिक वनहरुको बिक्रि वितरण रोकिदा उपभोक्ताहरुको अधिकारको हनन् संगै सामुदायिक वनले नियमित गर्ने कामहरुमा असर परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सामुदायिक वनहरुको साधारणसभाबाट स्वीकृत कार्ययोजना बमोजिमको काठदाउरा उपभोग गर्न पाउनुपर्ने, वनलाई दिगो व्यवस्थापन पद्धतिमा लैजानु पर्ने महासंघको माग रहेको छ । यस्तै सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न महासंघले माग गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले प्राप्त ज्ञापनपत्र सम्बन्धित निकायमा सम्प्रेषण गर्ने बताउनुभयो । डिभिजनल वन अधिकृत काफ्लेले काठदाउरा बिक्रि वितरण रोकिदा उपभोक्ताहरुले काठदाउराको उपभोग गर्न नपाएको भन्दै विभिन्न निकायबाट समेत बिक्रि वितरण खुल्ला गर्न अनुरोध भइरहेको जानकारी दिनुभयो । महासंघले अहिले चरणबद्ध आन्दोलनको कार्यक्रम गर्दै ज्ञापनपत्र बुझाउने, धर्ना दिने लगाएको कार्यक्रम तय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here