मध्यविन्दु नगरपालिका भित्रका क्रसर उद्योग मापदण्ड विपरित

0
154

चोरमारा । मध्यविन्दु नगरपालिकामा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकामा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रहरुको अनुगमनको क्रममा ति उद्योगहरु मापदण्डहरु विपरित सञ्चालनमा रहेको पाइएको हो ।
मध्यविन्दु नगरपालिकाको अरुणखोलामा महाराजा क्रसर उद्योग सञ्चालनमा रहेको छ भने चोरमारामा न्यू मनकामना मिलर प्रोडक्ट प्रालि र मध्यविन्दु क्रसर उद्योग रहेका छन् । हाल नगरपालिका भित्र रहेका ति उद्योगहरुले नेपाल सरकारले तय गरेको मापदण्डहरु पुरा नगरेको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । ति क्रसर उद्योगहरु मापदण्ड विपरित खोला तथा नदी किनारमा र वनजंगल नजिकै सञ्चालनमा रहेको पंगेनीले बताउनुभयो ।
चोरमारामा सञ्चालनमा रहेको न्यू मनकामना मिलर प्रोडक्ट प्रालिको सञ्चालक बिष्णुकुमार कार्की, मध्यविन्दु क्रसर उद्योगको सञ्चालक परशुराम ढकाल र अरुणखोलामा रहेको महाराज क्रसर उद्योगको सञ्चालक हेमुशंकर देवकोटा सहितको टोलि रहेको छ ।
मध्यविन्दु नगरपालिकामा रहेका ८ वटा बालुवा प्रशोधन केन्द्रले मापदण्ड विपरित कार्यगरिएको पाइएको समेत पंगेनीले बताउनुभयो । “भन्दा बालुवा प्रशोधन केन्द्र, काम चाहीं क्रसर उद्योगको गरेको पाइयो” प्रमुख जिल्ला अधिकारी पंगेनीले भन्नुभयो–“कति ठाँउमा अनुमति विना पनि प्रशोधन केन्द्रहरु सञ्चालन गरेको पाइयो ।”
जिल्ला प्रशासन कार्यालयले अहिले जिल्लाका सबै स्थानीय तहमा पत्रचार गर्दै तत्काल नदीजन्य पदार्थको बिक्रि वितरण रोक्न निर्देशन गर्दै पत्रचार गरेको छ । पत्रचार अनुसार अन्य वातावरणीय प्रभाव मुल्यांकन सहितको काममा भने प्रभाव नपर्ने पंगेनीले बताउनुभयो ।
अहिले जिल्ला प्रशासन कार्यालयले जिल्लाको विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु अनुगमन गरिरहेको छ । अनुगमनमा दर्ता भए नभएको, अन्य प्रक्रिया पुरा गरे नगरेको, भ्याट विल भए नभएको, भ्याटविल काटे नकाटेको, आईईईरईआईए, गरे नगरेकोलगायतका सबै विषय निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो ।
विगतमा समेत पटकपटक गरिएको अनुगमनको क्रममा क्रसर उद्योगहरु मापदण्ड विपरित सञ्चालनमा रहेको भन्दै सञ्चालनमा रोक लगाउने गरिएको भएपनि राजनितिक दवावमा केही समयमा नै क्रसर उद्योगहरु पुनः सञ्चालनमा आउने गरेका थिए ।
विगतमा नवलपरासी जिल्ला विभाजन हुनुपूर्व क्रसर उद्योग सञ्चालनमा रोक लगाएको भन्दै स्थानीय बिकास अधिकारी सुरुवा गरेको विषयले समेत देशव्यापी चर्चा पाएको थियो । नवलपुरमा राजनितिक दलमा आवद्ध व्यक्तिहरुले नै क्रसर उद्योग सञ्चालन गरेको कारण राजनितिक शक्तिको आडमा उनिहरुले जिल्ला प्रशासन कार्यालयले गरेको निर्देशनलाई अटेरी गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालयले अहिले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरुको अनुगमनलाई तिव्रता दिएको छ । शुक्रबार मात्रै जिल्लाको हुप्सेकोट गाउँपालिकामा सञ्चालनमा रहेको क्रसर तथा बालुवा प्रशोधन केन्द्रहरुको अनुगमन गरिएको छ । अनुगमनको गाउँपालिकामा सञ्चालनमा रहेको क्रसर उद्योगहरु मापदण्ड विपरित रहेको पाइएको छ । जिल्लाका सबै क्रसर उद्योगहरु मापदण्ड विपरित रहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here