नवलपुरको बिकास बिना गण्डकी प्रदेशको बिकास सम्भव छैन : मन्त्री बस्नेत

0
125

चोरमारा । गण्डकी प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले नवलपुरको बिकास बिना गण्डकी प्रदेशको बिकास सम्भव नभएको बताउनु भएको छ । नवलपुर गण्डकी प्रदेशको मुटु भएको भन्दै उहाँले प्रदेश बिकासको जग नवलपुर भएको बताउनुभयो ।
प्रदेशमा राजस्व संकलन, खाद्यन्न उत्पादन सहित आर्थिक तथा भौतिक क्षेत्रमा नवलपुरको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले भारतसंगको सिमानाका र फलामखानी नवलपुर र गण्डकी प्रदेश बिकासको जग भएको बताउनुभयो । गण्डकी प्रदेश सरकारको प्राथमिकतामा नवलपुर रहेको भन्दै उहाँले प्रदेशलाई खाद्यन्न उत्पादनमा आत्मनिर्भर बनाउन नवलपुरले मात्रै सक्ने बताउनुभयो । जसको लागि एक सय २९ वटा साना डिप बोरिङ्ग र आठ वटा ठुलो बोरिङ्ग निर्माण भइसकेको उहाँले बताउनुभयो । जसबाट २४ हजार हेक्टर जमिनमा १२ महिनानै सिचाईको सुविधाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरको दिव्यपुरीमा प्रदेशकै ठुुलो ३१ करोड रुपैयाको खानेपानी आयोजना निर्माण गरिएको भन्दै सबै घरमा खानेपानी पु¥याउने योजना सहित जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजनाको काम भइरहेको बताउनुभयो ।
जिल्लाको पहाडी क्षेत्रमा विद्युतिकरणको लागि २६ करोड रुपैया रकम विनियोजन भइ काम भइरहेको भन्दै उहाँले निकट भविष्यमा नै जिल्लाको सबै घरमा विद्युत सेवा पुग्ने बताउनुभयो । जसको लागि ठेक्का सम्झौता भई बिभिन्न काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँले गण्डकी प्रदेश सरकारको सहयोगमा आठ वटा र संघिय सरकारको सहयोगमा चार वटा गरि नवलपुरमा १२ वटा मोटर पुल निर्माण भइरहेको र सो मध्ये केही पुल निर्माणको काम सम्पन्न भएको बताउनुभयो ।
उहाँले संघियताको सबै भन्दा ठुलो फाइदा नवलपुरलाई भएको भन्दै यसको रक्षाको लागि गम्भीर बन्न समेत आग्रह गर्नु भएको छ । गण्डकी प्रदेश सरकार मार्फत जिल्लामा यातायात कार्यालय स्थापना भएको भन्दै उहाँले तिहार लगत्तै लाईसेन्स निर्माणको काम अगाडी बढ्ने बताउनुभयो । लकडाउन अगाडी नै त्यसको प्रक्रिया शुरु भइसकेको भएपनि कोभिड–१९ को कारण सृजित समस्याले रोक्किएको काम अब तत्काल शुरु हुने बताउनु भयो ।
आज मध्यविन्दु–१० अरुणखोलामा कारम्घारी चर्केकुना जोड्ने अधेरीखोला पक्की पुल उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । सोही कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले संघियताको कारण जनताले बिकासको प्रत्यक्ष अनुभुति गर्न पाएको बताउनुभयो । संघियतापछि बिकास निर्माणको कामले तिव्रता लिएको भन्दै संघियता अगाडी र संघियता पछिको बिकासको मुल्यांकन गर्न आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारले नवलपुरको बिकासलाई प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा पनि बिकास निर्माणको काममा सरकारको तर्फबाट सहयोग हुने बताउनुभयो । विगतमा पुल निर्माण नहुँदा सो क्षेत्रका स्थानीयले भोग्नु परेको पीडालाई स्मरण गर्दै उहाँले पुल निर्माणपछि सो पीडा अन्त्य भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here